Monday, January 19, 2015

यार्सा गुम्बा: पौराणिक सोमरस 

■ आनन्द काफ्ले

पौराणिक ग्रन्थ तथा कथा, कहानिहरुमा सोमरस् भन्ने पदार्थको वयान गरिएको पाइन्छ । खास गरेर झृग्वेद र अथर्ववेदमा यसको बारेमा उल्लेख गरिएको छ । झृग्वेदमा गरिएको सोमरस्को वयान अनुसार् सोम् नामको जडीबुटीबाट निकालिने चमत्कारिक गुणहरुयुक्त यो पदार्थमा अनेक रोग व्याधिहरुबाट बचाउँने र शरीरलाई सधैँ तन्नेरी जस्तो फुर्तिलो राख्ने क्षमता हुन्छ । यसमा देवताका राजा मानिने इन्द्र यही सोमरस्को सेवनबाटै बलवान र शक्तिशाली बनेका  बताइएको छ । 
पौराणिक आख्यानहरुकुा सवै कुरालाई सही मान्न पक्कै पनि सकिँदैन । तर यस्ता ग्रन्थहरुमा उल्लिखित सोमरस सम्बन्धि तर्कहरु स्वैरकल्पनामात्र हुन सक्दैनन् भनी मान्ने वैज्ञानिकहरु यो पदार्थको खोजीमा लागेका छन् । कोही कोही अन्वेशकहरु सोमरस उपलव्ध गराउँने सोमवृक्ष रामायणकाल अघि नै विलुप्त भइसकेको मान्छन् । अन्य केहीको मान्यता अनुसार आजभोलि पनि पाइँने गाँजा वा इफेड्रा भनिने जडीवुटी नै वेदमा उल्लिखित सोम वनस्पति हुन् । इरानी धर्मग्रन्थमा उल्लिखित हओमा ( पर्सियन भाषामा स को उच्चारण ह हुन्छ ) भनिने जडीबुटीलाई सोमरस्को श्रोत मान्नेहरु पनि छन् । च्याउविज्ञ आर. गार्डन वैशनले चाहिँ एक किसिमको च्याउ एमानिटा मस्कारिया ( Amanita muscaria  )मा पौराणिक सोमरस्का विशेषताहरु रहेको बताएका छन् । 
तर अहिले सोमरस् सम्वन्धि दावेदारीमा यौटा अर्को नाम थपिएको छ, त्यो हो नेपालको उच्च हिमाली भाग तथा चिनको तिब्बतक्षेत्रमा पाइँने यार्सागुम्बा । तिव्वती बोलचालको भाषामा यार्सा गुम्बा ( यार सा गुम्बा )को अर्थ हुन्छ जाडोमा कीरा, गर्मीमा घाँस । यार्सा गुम्बा एक किसिमको ढुसी र कोड.काओ व्याट मथ भनिने कीराको लार्भा बीचको पारजैविक संबन्धबाट तयार हुने क्याटरपिलर मसरुम – भुनगा च्याउ )  हो । यसलाइ वैज्ञानिक भाषामा ओफियोकार्डिसेप्स साइनेन्सिस  भनिन्छ । हिमाली हावापानीमा पाइने कोड.काओ व्याट मथले जाडो याम भन्दा केही अघि अंडा पार्छ । अंडाबाट निस्किने लार्भाहरु( भुनगा ) खानेकुराको खोजीमा यत्र तत्र भड्किँदै जाँदा हिउँबाट बच्नका लागि जमिनमुनि घुस्रँन पुग्छन् । त्यसपछि यिनीहरु एककिसिमको कीटभक्षी ढुसीको चपेटामा पर्छन् र यहीँबाट सुरु हुन्छ, बहुचर्चित यार्सागुम्बाको सृजना । आफ्ना जराहरुलाई भुनगाको शरीरभित्र छिराएर ढुसीले जाडोभरि पोषण प्राप्त गर्छ । जव गृष्म झृतु सुरु हुन्छ र हिउँ पग्लन थाल्छ, मृत भइसकेका लार्भाका शरीरबाट ढुसीका तन्तुहरु घाँस झैँ बाहिर निस्कन्छन् । यसै कारण यो जीवको नाम यार्सा गुम्बा अर्थात जाडोमा कीरा, गर्मीमा घाँस राखिएको हो । यार्सा गुम्बा नेपाल र चिनका अलावा भारत तथा भुटानमा पनि पाइँन्छ ।  
पारम्परिक औषधिका रुपमा यार्सा गुम्बाको उपयोग चिन र आसपासका क्षेत्रमा लामो समयदेखि हुँदै आएको थियो । चिनमा सर्वप्रथम गाईगोठालाहरुले यो जीव पत्ता लगाएको वताइन्छ । यार्सा गुम्बा खाएका कारण आफ्ना बूढा बस्तुहरु पनि तन्दुरुस्त र बलिया रहेका ठान्दै यी चिनियाँहरुले यसलाई ओखति र शक्तिबद्र्धक टनिकका रुपमा प्रयोगमा ल्याउँन थाले । तर बाँकी विश्वमा यसको उपयोगिता सम्बन्धि जानकारीको प्रसार सन् १९९३  मा भएको चिनियाँ राष्ट्रिय खेलकुद पछि मात्र भएको हो । यो खेलकुदमा तीनजना उत्कृष्ट महिला एथलेटिक्स् खेलाडीहरु वाड. जान्सी, कु युञ्जी र साँड. लिड.्लीले यार्सा गुम्बाको नियमित सेवन गर्ने गरेको खुलासा पछि एकाएक यो जडीबुटी तर्फ पश्चिमा ध्यान तानिएको थियो । यिनीहरुले अविस्वसनीय प्रदर्शन मार्फत पाँच वटा विश्वरेकर्ड तोडेका थिए । यी कीर्तिमानसंबन्धि विवाद उत्पन्न भएपश्चात गरिएका सबै डोपिड. परीक्षण नेगेटिभ पाइएपछि उनीहरुका प्रशिक्षकले उक्त कुराको खुलासा गरेका हुन् । आजभोलि पश्चिमा मुलुकहरुमा हिमाली भियाग्रा भनेर पनि चिनिने यसको लोकपृयता समयक्रमसंगै, विशेषत ः शक्तिवद्र्धक र यौनवद्र्धक जडीबुटीका रुपमा बढ्दै गएको छ । यसले खासगरी पुरुष हर्मोनहरुको उत्पादन बढाउँनुका साथै कलेजो र मृगौलालाई फाइदा पुर्याउँने कुरा हाल आएर वैज्ञानिक रुपमै पनि प्रमाणित भइसकेको छ । अत्याधिक माग तथा सीमित श्रोतहरुका कारणले यार्सागुम्बा अहिले संसारकै महंगो ओखति बन्न पुगेको छ । 
यसको औषधीय गुणाका कारक चाहिँ १८ प्रतिशतको मात्रामा पाइँने बीटा डी ग्लुकन र २ प्रतिशत मात्रामा हुँने एडीनोसीन भन्ने रासायनिक पदार्थहरुलाई मानिएको छ । यसका अलावा केही मात्रामा हुने कोर्डिसेपिक अम्ललाई पनि महत्वपूर्ण मानिन्छ । आजकल विभिन्न ट्रेड मार्क तथा नाम दिएर संसारभर नै यार्सागुम्बाको विक्रीवितरण भइरहेको छ । नेपालका मनाङ्ग , डोल्पा, दार्चला लगायत जिल्लाहरुका हिमाली भेगमा यार्सागुम्बा एक राम्रो आयश्रोतका रुपमा स्थापित भएको छ । सन् २००४ मा प्रतिकिलो ६००००० रुपैयाँमा विक्रि हुँने गरेको यो जडीबुटीको मूल्य हाल सम्म आइपुग्दा झण्डै दश गुनाले वृद्धि भइसकेको छ । मूल्य बढेपनि यसको वार्षिक उत्पादन बढाउँन सकिने भरपर्दो उपाय हालसम्म फेलापर्न सकेको छैन । चिनमा कृतृम खेतिपातिको विधिबाट यसको उत्पादन बढाउँने प्रयासहरु चाहिँ हुन थालेका छन् । आसा गरौँ पौराणिक कालको सोमबृक्षको जस पाउँदै गरेको यार्सा गुम्बाको उत्पादन र प्रसोधनको विकासबाट भविष्यमा हाम्रो देशका हिमाली भेगहरुमा जीवनस्तरलाई अझ माथि उकास्न सकिन्छ । 
(नव युवा मासिक मा तीन बर्ष अगाडि प्रकाशित लेखलाई पछिल्लो जानकारी अनुसार पुनर्लेखन गरी प्रेषण गरिएको)
तश्वीर: www.japanese.alibaba.com   
संदर्भसामाग्रीहरु ः
Ophiocordyceps sinensis. www.wikipedia.org
Oldenberg Hermann. The Religion of The Veda
Berkeley MJ. (1843). "On some entomogenous Sphaeriae"London Journal of Botany 2: 205–11

- Yarsagumba – www.yarsagumba.eu
- मिश्र अरविन्द डा , यार सा गुम्बा, सर्दी में कीडा  गर्मी में घास, विज्ञान प्रगति, पूर्णांक ६७१, बैज्ञानिक तथा औद्योगिक अनुसंधान परिषद, नयाँ दिल्ली। 





No comments:

Post a Comment

तार्किक कि प्रायोगिक

आनन्द काफ्ले “प्रज्वलनशील पदार्थहरुको भित्र ‘फ्लोजिस्टोन् (phlogiston)’ नाम गरेको अग्नी तत्व हुन्छ, जसका कारण ती जल्ने गर्दछन् । जुन पदार...