Wednesday, February 4, 2015

विज्ञान

सिसाले ढल्यो साम्राज्य

प््रााचीन कालमा अस्तित्वमा रहेको रोमन साम्राज्यको पतन संबन्धि विभिन्न सिद्धान्तहरु छन् जस मध्य सिसा धातुको कारण उत्पन्न विशाक्ततालाई कारण मान्ने अवधारणालाई वैज्ञानिक तथ्यहरुका आधारमा आजभोलि ज्यादा महत्वकासाथ हेर्ने गरिएको छ । प्रस्तुत छ, रोमन साम्राज्य पतन संग जोडिएको यसै धातु सम्बन्धि रोचक प्रशंग ।

 -आनन्द काफ्ले 

शासन सत्ता उल्टाउँने अथवा साम्राज्यलाई परास्त गर्ने विभिन्न तरिकाहरु छन् । इतिहासमा संसारका विभिन्न मुलुकहरु तथा कहिलेकाहीँ एउटै मुलुकमा पनि पटक पटक शासन सत्ता उल्टिएर नयाँ व्यवस्था स्थापित हुने गरेको हामी पाउँछौँ । धेरै ठाउँमा जनताको विद्रोहका कारणले, कतै युद्ध पराजयपछि तथा कतै सैन्य कुका कारण शासन व्यवस्था परिवर्तन भएका उदाहरणहरु कैयौँ छन् । तर युरोपमा प्रचीन कालमा कायम रहेको रोमन साम्राज्यको पतन एउटा अनौठो किसिमबाट भएको मानिन्छ । लामो समयसम्म रहस्यको गर्भमा रहेको उक्त ऐतिहासिक घटनाका संबन्धमा बीसौँ शताव्दिका वैज्ञानिक तथा इतिहासकारहरुले एउटा निस्कर्ष निकालेका छन्, जसअनुसार रोमन साम्राज्यको पतन लेड (सिसा) नाम गरेको धातुका कारण भएको हो । यसलाई आजकल मोटर व्याट्रीको इलेक्ट्रोड बनाउँने काममा उपयोग गरिन्छ । ल्याटिन भाषामा प्लम्बम् भनिने यो धातुको उत्खनन् निकै पुरानो समय ( ई. पु. ६५००) देखि नै हुने गथ्र्यो । तुलनात्मक रुपमा नरम प्रकृतिको हुने लेड धातुलाई पिटेर विभिन्न स्वरुपमा ढाल्न सहज हुने भएकोले यसको व्यापक रुपमा पानीका पाइप, खाना पकाउँने भाँडाकुडा इत्यादि बनाउँन उपयोग हुने गथ्र्यो । पाइप सम्बन्धि काम गर्ने मान्छेहरुलाई आजभोलि पनि प्लम्बर भनिन्छ । यो शब्द त्यही प्लम्बम् (सीसा) बाट आएको हो ।  
रोममा खानेपानीको आपूर्तिकालागि जहाँतहीँ लेड पाइपहरुको उपयोग हुन्थ्यो । फलाममा जस्तो सजिलै खिया नलाग्ने तथा बनाउँन सजिलो भएकाले यिनको प्रयोग भएको हो । यद्यपि यस्ता पाइपको प्रयोग खानेपानी वितरणमा गर्नु स्वास्थ्यकालागि हानीकारक हुने पत्ता लागिसकेपछि आजकल अरु नै बस्तुबाट बनेका पाइपको प्रचलन छ । सिसाले प्रत्यक्ष रुपमा पानीसंग प्रतिकृया नगर्ने भएपनि हावा तथा अन्य लबणहरुको उपस्थितिमा पानीमा घुलनशील यौगिक बनाउँछ । यो प्रकृयालाई प्लम्बोसल्भेन्सी भनिन्छ । यस्तो घुलनशील पदार्थको रुपमा खाने पानीमा मिसिएको सिसाबाट शरीरमा विभिन्न किसिमका हानीकारक असरहरु पुग्ने हुन्छ । खासगरी मस्तिष्क, प्रजनन् अंग तथा हाडहरुमा देखिने समस्याहरु ब्ढ्दै गएर मृत्यु सम्म हुने अवस्था आइपर्छ ।
सिसाले खानेकुरा तथा रक्सीमा मिठास बढाउँने विश्वासका कारण यसबाट बनेका भाँडाकँुडाहरुको उपयोग रोमन साम्राज्यमा अत्यन्त लोकपृय थियो । रोमन शासक, जमिन्दार तथा सम्भान्तहरु सिसाबाट बनेका भाँडामा तयार पारिएका वाइनका सौखिन थिए । उनीहरु जाँडमा गुलियोपना ल्याउँनका लागि लेड एसिटेट नामको यौगिकका साथै सिसाको भाँडामा राखेर बनाइएको स्याउको सिरप उपयोग गर्दथे । तर सिसाका घुलनशील यौगिकहरुको सेवन बाट मानिसहरुमा हाड, मस्तिष्क, मृगौला, पेट तथा प्रजनन् अंगहरुमा पुग्ने घातक असरहरुबाट रोमनहरु बेखवर जस्तै थिए । रोमका शक्तिशाली शासकहरु लेड विशाक्तताका शिकार बनेका थिए । जस्तो, रक्सीको मात्र नभएर स्त्रीका समेत सौखिन जुलियस सिजरका दुई मात्र सन्तान भएका थिए  भने उनका उत्तराधिकारी सिजर अगस्टस्का एक । क्यानाडेली वैज्ञानिक डा. जेरोम नियाजुले इ. पु. ३० देखि सन्२२० सम्मका रोमन शासकहरुका आनिबानी तथा व्यक्तित्वमाथि गरेका अध्ययन अनुसार क्लाडियस्, क्यालीजुला तथा नेरो जस्ता रोमन शासकहरु लेड विशाक्तताको शिकार बनेका थिए । यसरी शासकहरु निसन्तान तथा अल्पायु हुनुलाई इतिहासकारहरुले रोमन साम्राज्य पतनका कैयौँ कारणहरुमध्य  एउटा महत्वपूर्ण कारणका रुपमा व्याख्या गर्ने गरेका छन् ।
यद्यपि लेड विशाक्तताको असर सिसाको पाइप मार्फत आपूर्ति गरिने पानी प्रयोग गर्ने गरेका सर्वसाधारण रोमन नागरिकहरुमा तुलनात्मक रुपमा कम हुनेगरेको पाइँछ । वैज्ञानिकहरु यसो हुनाको कारण रोमको चुनयुक्त माटोलाई मान्दछन् । यस्तो माटोमा हुने क्याल्सियम कार्वोनेट पाइपको भित्री सतहमा जम्मा भएर प्लम्बोसल्भेन्सी लाई रोक्न मद्दत गर्ने भएकाले विशालु सिसा पानीमा मिसिन नपाएको हुनसक्ने उनीहरुको मत छ ।  
सीसाबाट हुने विषाक्तताको एउटा रुपलाई स्याटर्निज्म भनिन्छ । यो विमारीको शिकार भएकाहरुमा बेचैनी, झिँझो लाग्ने तथा जोर्नीहरु सुन्निने समस्या देखिन्छ । रोमन मिथकमा उल्लिखित स्याटर्न नामको, आफ्नै सन्तानलाई खाने सैतानको जस्तो चिडचिडाहट विरामीमा देखिने भएकाले यसलाई स्यार्टिर्नज्म भनिएको हो ।  सिसा खानीमा काम गर्ने मजदुर तथा सिसाका भाँडाकुडा बनाउँने मानिसहरुमा देखिने गरेका अनौठा लक्षणहरु र पँहेलिएका अनुहार हेरेर यसबाट स्वास्थ्यमा पर्न जाने खराव असरका बारेमा अड्कल गरिए पनि सिसासंग जोडिएको रोमन सम्भ्रान्त परम्परालाई बदल्न भने निकै लामो समय लागेको थियो ।   
आजकल सिसा धातुलाई भाँडाकुडा एवं पाइपलाइनमा प्रयोग नगरिने भएकाले यसबाट खानेकुरा मार्फत हुने हानीहरु त्यत्ति नभएपनि गाडी, कलकारखाना आदिबाट उत्पन्न हुने धुवाँ तथा धातुका खानीहरुबाट पैदाहुने प्रदुषणका कारण सहरी क्षेत्रका बासिन्दाहरु अझै पनि यसका कारण हुने विषक्तताका शिकार हुन ेगरेका छन् ।  
सन्धर्भ सामाग्रीहरु :
Lead Poisoning – www.en.wikipedia.org
Lead Poisoning And Rome – www.penelope.uchicago.edu
Wilford J. N.(1983), Roman Empire’s Fall is Linked With Gout and Lead Poisoning

The Roman Empire – www.metmusium.org
(नव युवा मासिकमा पूर्व प्रकाशित यो लेख समय सापेक्ष सम्पादन पछि पुन: प्रेषण गरिएको हो। )

No comments:

Post a Comment

तार्किक कि प्रायोगिक

आनन्द काफ्ले “प्रज्वलनशील पदार्थहरुको भित्र ‘फ्लोजिस्टोन् (phlogiston)’ नाम गरेको अग्नी तत्व हुन्छ, जसका कारण ती जल्ने गर्दछन् । जुन पदार...