Monday, June 8, 2015

कोलेष्टेरोल र हृदयाघातलाई बुझौँ


कोलेष्टेरोल के हो ? 

 कोलेष्टेरोल, स्टेरोल वर्गमा पर्ने एक प्रकारको जैवरसायन हो । स्टेरोल वर्ग अन्तरगत कैयौँ हर्मोन, मनोत्तेजक (Stimulant) पदार्थहरु तथा बोट विरुवा र जनावरहरुका कोषमा पाइने उच्च महत्वका कार्वनिक पदार्थहरु पर्दछन् । कोेलेष्टेरोल प्राणीहरुको कोषको लागि नभई नहुने पदार्थ हो । यो मुख्यतः कोष झिल्ली भनिने कोषहरुको बाहिरी तहमा रहे पनि निकै कम मात्रामा, कोष भित्र हुने शुक्ष्म अंगकहरुमा पनि यसको उपस्तिति रहने गरेको पाइएको छ । यसको उत्पादन प्राणीहरुको शरीरका कुनै पनि प्रकारका कोषहरुबाट हुन सक्छ । कोषहरुलाई आकार दिने र उपयुक्त स्थिरता प्रदान गर्ने अंगक कोष झिल्ली हो । यो मुख्यतया फोस्फोलिपिड भनिने फोस्फोरस् युक्त तैलीय पदार्थहरुबाट बनेको हुन्छ । फोस्फोलिपिडहरु आफैँमा तरल अवस्थामा रहने भएका कारण यिनीहरुले मात्र कोषहरुलाई उपयुक्त स्तरको स्थिरता दिन सक्दैनन् । कोलेष्टेरोलले यी फोस्फोलिपिडहरुसंग प्रतिकृया गरेर यिनीहरुलाई बलियो बनाई कोषहरुलाई एउटा खास आकार दिन मद्दत गर्दछ । कोलेष्टेरोल नहुनु हो भने देखि कोष झिल्ली खाली, बहने गुण भएको तरल पदार्थहरुको मिश्रण मात्र रहन्थ्यो । यस्तोमा प्राणीहरुको शरीर निर्माण संभव हुने थिएन । यसका अलावा आफ्नो विशेष किसिमको अणु संरचनाका कारण यसले खास पदार्थहरुलाई मात्र कोष भित्र पठाउँने र अरुलाई बाहिरै रोक्ने काम पनि गर्दछ । यसरी नचाहिँने वा हानीकारक पदार्थहरुलाई प्राणी कोष भित्र प्रवेश गर्नबाट रोक्नमा कोलेष्टेरोलको भूमिका हुन्छ । यति मात्र होइन, यो नै भिटामिन डी, केही हार्मोनहरु तथा पित्तरस् निर्माणको कच्चा पदार्थ हो । उच्च रक्तचाप तथा हृदयाघातसंग जोडिएर एउटा आतंकयुक्त छवि बनाएको यो जैविक रसायन आखिरमा शरीर निर्माणका लागि नभइ नहुने एक तत्व पनि हो ।

                               प्राणी कोषको चित्र । तस्वीरः र्इ . एम. अार्मस्टर्ङ (E. M. Armstrong)

 उत्पादन, परिवहन र क्षय 

 कोलेष्टेरोलको उत्पादन प्राणीहरुको शरीरमा कुनै पनि किसिमका कोषहरुमा हुन सक्छ । तैपनि कलेजोका कोषहरुले यसका लागि महत्वपूर्ण श्रोत र रिसाइकल सेन्टर को काम गर्ने गर्दछन् । यसकारण यो प्राणीहरुको शरीरका लागि एक सुलभ रसायन हो । ६८ किलोग्राम तौल भएको एउटा औसत मानिसको शरीरमा दैनिक १ ग्राम कोलेष्टेरोल उत्पादन हुन्छ भने ३५ ग्रामको परिमाणमा यो सन्तुलित रहन्छ । शरीरमा उत्पादन हुनुका अलावा कोलेष्टेरोल युक्त खाने कुराहरु, मासु, अण्डा, इत्यादि खाँदा पनि उल्लेख्य मात्रामा शरीर भित्र यसको प्रवेश हुने गर्दछ । सामान्यतया, शरीरको स्वचालित नियन्त्रण प्रणालीद्धार नै कोलेष्टेरोलको उपयुक्त मात्रा कायम भइरहेको हुन्छ । बाहिरबाट कोलेष्टेरोलको आपूर्ति भएको समयमा शरीरले कम कोलेष्टेरोल बनाउँछ । तर अत्याधिक कोलेष्टेरोलाई शरीर भित्र प्रवेश गराउँने किसिमका आधुनिक खानपानले यसको नियन्त्रण प्रणालीलाई प्रभावित पारिरहेको हुन्छ । कोलेष्टेरोल आंसिक रुपमा, कोषहरुमा सजिलैसंग अवशोषित हुन नसक्ने कोलेष्टेरोल इस्टर भन्ने अर्को किसिमको रसायनमा परिणत हुन्छ । कोलेष्टेरोल पानीमा अत्यन्त कम मात्रामा मात्र घुल्ने भएका कारण रगतमा यसको परिवहनका लागि ग्लाईकोप्रोटिन भनिने विशेष प्रकारको प्रोटिनको आवस्यकता पर्दछ । ग्लाईकोप्रोटिनका अणुहरुले कोलेष्टेरोल तथा कोलेष्टेरोल ईष्टरलाई आफ्नो जटिल आणविक संरचना भित्र कैद गरी रक्त प्रवाहमा लिएर जान्छन् । यो प्रकृयालाई हामी सिटीबसले स्टप स्टपबाट यात्रुलाई टिपेर लगेकोसंग तुलना गर्न सक्छौँ । यसरी लगिने कोलेष्टेरोलका अणुहरुको अन्तिम गन्तब्य कलेजो हुँदै पाचन प्रणाली सम्म पुग्नु हो । कलेजोमा यो तत्व पित्त थैली मार्फत बाइल एसिड को रुपमा पाचन प्रणालीमा मिसिन्छ । तर पाचन प्रणाली मार्फत पूर्ण रुपले निस्कासन हुनुको सट्टा यसको ठूलो हिस्सा, सानो आन्द्राका कोषहरुमा अवशोषण भएर पुनः जैवरासायनिक प्रणालीमा समाहित हुन पुग्दछ र सानो हिस्सा मात्र निस्कासन हुन्छ । खानपानका कारण उच्च कोलेष्टेरोलको जोखिममा रहेकाहरुका लागि यो किसिमको पुनर्चक्रण त्यत्ति सुखद शारीरिक कृया होइन । भूमिकाका हिसावले कोलेष्टेरोललाई बोक्ने लाइपोप्रोटिनहरुलाई असल र खराव भनेर दुई प्रकारमा विभाजन गरिएको छ । यसैबाट असल कोलेष्टेरोल (Good cholesterol) र खराव कोलेष्टेरोल (Bad cholesterol) भन्ने पदावलीहरुको जन्म भएको हो । 

असल र खराव कोलेष्टेरोल ! 

 कोलेष्टेरोल भन्ने चिज यथार्थमा एउटै भए पनि चिकित्सकीय भाषामा असल र खराव भनेर दुई किसिमका कोलेष्टेरोलको चर्चा गर्ने गरिन्छ । यदि तपाईँ पनि उच्च रक्तचापबाट ग्रसित हुनुहुन्छ वा यसको जोखिमबाट बच्नकालागि शरीरको लिपिड प्रोफाइल परीक्षण गराउँने गर्नु भएको छ भने डाक्टरले एचडीएल र एलडीएल भन्ने पदावलीहरु प््रायोग गरेको सुन्नु भएको होला । यिनीहरुका चल्तीका नामहरु क्रमशः असल र खराव कोलेष्टेरोल हुन् । यी दुबैले कोलेष्टेरोलका अणुहरुलाई रक्रसंचार प्रणाली मार्फत एकै प्रकृयाबाट परिवहन गराउँदछन् । तर कम घनत्व हुने एलडीएल ( लो डेन्सिटी लाइपौप्र्रोटिन ) र ज्यादा घनत्व हुने एच डी एल ( हाई डेन्सिटी लाइपोप्रोटिन) ले यो पदार्थसंग गर्ने प्रतिकृयाका नतिजा चाहिँ परस्पर विपरीत किसिमका हुन्छन् । एल डी एल र कोलेष्टेरोलको अन्तर्कृयाबाट पैदा हुने पदार्थको रक्तनलीहरुका भित्तामा थेग्रिएर टाँसिने गुण हुन्छ । यसरी टाँसिने ठोस पदार्थले क्रमशः आयतनमा बृद्धि हुँदै गएर रक्तनलीलाई झन् झन् साँघुरो बनाउँदै जान्छ । यसले गर्दा उच्च रक्तचाप र हृदयाघातको जोखिम पनि समय संगसंगै बढ्दै जान्छ । यसरी रक्तनली साँघुरिने प्रकृया किसोर वा युवा अवस्थाबाटै सुरु हुन सक्छ र यसको असर चाहिँ बृद्धावस्था प्रवेश संगसंगै देखिन थाल्छ । यसको ठीक विपरीत एच डी एल र कोलेष्टेरोल मिलेर बनाउँने पदार्थको रक्त नलीहरुमा थेग्रिने गुण हुँदैन । बरु यसले त क्षतिग्रस्त भएका रक्तनलीका भित्री भित्ताका कोषहरुको पुनर्निमाण र मर्मत गर्ने काम गर्दछ । यसका अलावा यसले एल डी एललाई नष्ट गर्ने वा एल डी एल – कोलेष्टेरोल कम्प्लेक्स्लाई पुनर्चक्रण गराएर कोलेष्टेरोललाई मुक्त गराउँने काम गर्दछ । यही भएर यी दुई प्रकारका लाइपोप्रोटिनहरुलाई खराव र असल भनेर नामाकरण गरिएको हो । असल कोलेष्टेरोल जति धेरै त्यति राम्रो । त्यस्तै खराव कोलेष्टेरोल जति कम त्यति राम्रो । 

 फलफूल तथा सागसब्जीको आहारले साँच्चै हृदयाघातबाट बचाउँछ त ? 

 कोलेष्टेरोल प्राणीहरुको शरीरमा बन्छ । वनस्पतिहरुको शरीरमा यो तत्व बन्दै बन्दैन वा साह्र्रै नगन्य मात्रामा बन्ने गर्दछ । तर वनस्पतिहरुमा यो जस्तै संरचना, गुणहरु तथा भूमिका हुने फाइटोस्टेरोल भनिने पदार्थहरु बन्ने गर्दछन् । फाइटोस्टेरोलहरु आणविक संरचनाका हिसावले कोलेष्टेरोल जस्तै नै हुन्छन् । यिनीहरुले पनि वनस्पतिकोषमा हुने कोष झिल्लीलाई मजबुत बनाउँनमा भूमिका खेल्छन् । तर कोष झिल्लीमा हुने फोस्फोलिपिडहरु संग यिनीहरुको अन्तर्कृया प्राणीहरुमा जस्तो धेरै प्रभावकारी नहुँने भएका कारण वनस्पति कोषका कोष झिल्लीहरु त्यति मजबुत हुँदैनन् । त्यही भएर वनस्पति कोषहरुमा कोष झिल्ली भन्दा बाहिर पट्टी अर्को कोष भित्ता भन्ने बलियो तह पनि रहेको हुन्छ । फलफूल तथा साग सब्जीहरुको भोजन गर्दा यस्ता फाइटोस्टेरोलहरु हाम्रो पाचन प्रणालीमा पुग्दछन् । समान रासायनिक तथा भौतिक गुणहरुका कारण यिनीहरुले पाचन नलीमा अवशोषित हुने प्रयोजनका लागि कोलेष्टेरोलहरुसंग प्रतिस्पर्धा गर्दछन् । यसले गर्दा पाचन प्रणाली मार्फत पुनः रक्त प्रवाहमा मिसिने कोलेष्टेरोलको मात्रा कम हुन पुग्दछ । तर यी फाइटोस्टेरोलहरुले लाइपोप्रोटिनहरुसंग अन्तर्कृया गरेरे रक्तनलीमा थुप्रिने पदार्थ बनाउँदैनन् । यसले गर्दा उच्च रक्तचापको जोखिमलाई घटाउँनमा मद्दत पुग्दछ । यति मात्र नभएर फलफूलहरु मार्फत यी फाइटोस्टेरोलहरुको सेवनले क्यान्सर जस्तो गंभीर रोगको खतराबाट पनि बचाउँन सक्ने तथ्य पत्ता लागिसकेको छ । 

 निस्कर्ष 

 कोलेष्टेरोल हाम्रो शरीरका लागि नभइनहुँने जैविक रसायन भए तापनि यसको उच्च मात्रा र खास गरेर यसले कम घनत्व हुँँने लाइपोप्रोटिनहरुसंग अन्तर्कृया गरी रक्तनलीहरुलाई साँघुर्याउँने भएका कारण यो, उच्च रक्तचाप र मुटु रोगको प्रमुख कारक पनि रहि आएको छ । सकेसम्म एल डी एलको मात्रालाई घटाउँने, एच डी एलको मात्रा बढाउँने र शरीरमा फाइटोस्टेरोलहरुको प्रवेश गराई कोलेष्टेरोलको पूनर्शोषण नियन्त्रण गर्न सकिएमा धेरै हद सम्म हृदयाघात जस्तो प्राणघातक विमारी बाट बच्न सकिन्छ । यसका लागि पर्याप्त मात्रामा शारीरिक व्यायामहरु गर्ने, आहार विहारको मामिलामा आत्म अनुशासन कायम गर्ने र पर्याप्त फलफूलहरुको सेवन गर्ने गर्नु पर्दछ ।

No comments:

Post a Comment

तार्किक कि प्रायोगिक

आनन्द काफ्ले “प्रज्वलनशील पदार्थहरुको भित्र ‘फ्लोजिस्टोन् (phlogiston)’ नाम गरेको अग्नी तत्व हुन्छ, जसका कारण ती जल्ने गर्दछन् । जुन पदार...