Saturday, October 6, 2018

मेरो भन्नु

मेरो भन्नु

लेख्नु मेरो रुचिको विषय हो । पहिले पहिले नेपाली तथा अंग्रेजी भाषाका पत्रपत्रिकामा नियमित/ अनियमित लेख रचनाहरु लेख्ने गर्थेँ । नवयुवा मासिक (मुल्यांकन प्रकाशन गृह) मा केही समय विज्ञान सम्बन्धि लेखहरु नियमित रुपमा लेखेँ । तर पछि यो पत्रिकाको प्रकाशन बन्द भयो । एक समय, खास गरेर किशोर/ युवा पाठकहरुका बीचमा संभवत: सबै भन्दा लोकपृय पत्रिका यही थियो । २०५२ / ५३ तिरबाट प्रकाशन सुरु भएको हुँदो हो; लगभग डेढ दशक जति चल्यो होला । सुचना प्रविधिको विकाससंगै मान्छेहरुको रुचि कागजी अक्षरबाट काँचको पर्दामा कोरिएका अक्षर तिर ज्यादा बढ्दै गर्नुको परिणाम होला, नवयुवाले आफूलाई धान्न सकेन । त्यो भन्दा अघि र पछि हिमालयन टाईँम्स्, दि काठमाण्डौ पोष्ट र रिपब्लिका अंग्रेजी दैनिक तथा केही नेपाली दैनिक पत्रिकामा पनि लेखेको छु । कुनै समयमा देशका राम्रै पत्रिकामा एकादुई कविता पनि छापिएका भए तापनि पछि कविता लेख्नमा रुचि हराएर गयो । हाल अाएर पत्रिकाहरुमा पनि खासै लेखिँदैन । तर लेख्ने रुचि भने हराएको छैन । कता हो कता ‘क्रेजी राईटर’ त होइन तर कता कता अक्षरहरु तर्फको अाकर्षणले समय समयमा तानिरहन्छ । लेखेर नै केही भनौँ जस्तो लागिरहन्छ । पढिदिने मान्छे धेरै हुन्नन् भन्ने थाहा नभएर होइन, खाली, शब्दहरु खर्चिने एउटा सौख जस्तो मात्र ।

विचार पैदा हुनु लेख्नकालागि पहिलो सर्त हो । अाफ्नो मनमा उव्जिएको विचारलाई पाठकहरुका बीचमा प्रेशित गर्नु उपयुक्त छ कि छैन भन्ने कुरो दोस्रो महत्वपूर्ण कुरो भयो । यदि अाम समुदायका बीचमा प्रवाह गर्न उपयुक्त विचार रहेछ भने त्यसलाई स्पष्ट भाषामा, बुझिने गरी अभिव्यक्त गर्न सकिन्छ कि सकिन्न भन्ने कुरो तेस्रो महत्वपूर्ण कुरो भयो । के, लेख्ने रुचि हुनेहरुका लागि यति कुरा मिलिसकेपछि सिर्जना सुनिस्चित हुन्छ त ? अहँ, हुँदैन । किनकि सिर्जनाको संभाव्यतामा प्रभाव पार्ने यी तीन तत्व बाहेक अर्को चौथो तत्व पनि बाँकि नै छ । त्यो हो, समय । तपाईँसंग लेख्नकालागि सबै कुरा अनुकुल छन् तर समय उपलद्वध छैन भने कसै गरे पनि लेख्न सक्नुहुन्न । अझ म जस्तो अध्यापन/ अनुसन्धान गर्नु पर्ने पेशा भएकाको लागि त समय नै सबै भन्दा प्रबल ‘फ्याक्टर’ भएर अाईदिन्छ । तर रुचि भैसकेपछि केही न केही उपाय गरेर थोरै भए पनि समय निकाल्ने उत्प्रेरणा भने अाफ्नै मनले पैदा गरिरहेको हुन्छ, यो चाहिँ राम्रो पक्ष छ ।  

मैले यो पेजको सुरुवात अाज भन्दा सात वर्ष अघिबाट गरेको रहेछु । यसको सुरुको उद्देश्य सामान्य लेखपढ गर्न सक्ने, हाईस्कूल सम्मको शिक्षा लिएका व्यक्तिहरुको लागि अाधारभूत विज्ञानको ज्ञान उपलब्ध गराउँने रहेको थियो । त्यसकालागि सुरुमा केही सामाग्रीहरुहरु तयार गरेर राखेँ पनि । विज्ञान विषयको प्राध्यापक भएका हिसावले पनि मलाई विज्ञान संचारको क्षेत्रमा विशेष रुचि रहेको थियो । तर त्यो अभियानलाई निरन्तरता दिन सकिएन । कारण, एक त विज्ञान संबन्धि प्राविधिक विषयमा चर्चा गर्दा धेरै चित्रहरु बनाउँनु पर्ने । कंप्युटरमा त्यस्ता चित्र सुन्दर र अाकर्षक तरिकाबाट बनाउँनका लागि समय पनि त्यही अनुरुप लाग्नै भैगयो । त्यसमाथि यस्ता तथ्यगत कुराहरु लेख्दा सावधानीपूर्वक, अाफूले पनि केही अध्ययन गरेर लेख्नु पर्ने हुन्छ, जसकालागि फेरि छुट्टै समय निकाल्नु पर्यो । त्यति दु:ख गरिसकेपछि कमसेकम पाठक पनि त्यही अनुरुप भैदिए त तैपनि ठिकै हुन्थ्यो । विज्ञान संबन्धि ज्ञानका कुरा त्यति चाख लिएर कसले पढ्ने । जसलाई विज्ञानमा रुचि छ, उसले त अाफ्ना पाठ्यपुस्तकबाटै धेरै कुरा सिकिसकेको हुन्छ, अर्को छुट्टै सामाग्री किन चाहियो ? र जसलाई रुचि नै छैन, वा यो विषयप्रतिको अरुचिका कारण उ पहिल्यैदेखि यसबाट टाढिएको छ, उसले खोजी खोजी मेरो व्लग किन हेर्दोहो । त्यसमाथि त्यस्ता सामाग्री पस्कँदा मेरो स्वतन्त्र लेखन प्रतिको धेरथोर रुचिको पनि संबोधन हुने भएन । यस्तो परिस्थितिका कारण मैले त्यस किसिमको लेखनलाई छाडिदिएँ । पछि केही अाफ्ना प्रकाशित लेख हरू पनि छानेर राखेँ । तर तीन वर्ष अगाडि देखि मेरो ब्लग सुषुप्त अवस्थामा रहेको थियो । अहिले चाहिँ यसलाई फेरि कुनै नयाँ उत्प्रेरणाका कारण डोमेन खरिद गरेरै, वेवसाईटका रुपमा जगाएको छु । विज्ञान वा कुनै खास विषय केन्द्रित सामाग्री राखेर यसलाई ज्यादा गर्हुँगो बनाउँने नभई सर्वसाधारणले सहज तरिकाबाट बुझ्न सक्ने, जानकारीमूलक लेख, नियात्र, अनुभव/ अनुभूतिको संग्रहका रुपमा विकास गर्ने सोच राखेको छु । संभवत: यसमा यात्रा वृत्तान्त र नवीन किसिमका अनुभवहरुका बयानले ज्यादा स्थान लिनेछन् । उपयुक्त लाग्यो भने केही साहित्यिक सामाग्री पनि राखौँला भन्ने सोचेको छु।

मान्छे स्वाभावैले अाफ्ना कुरा अरुले सुनिदिउँन्, पढिदिउँन्, भन्ने अपेक्षा गर्ने प्राणी हो ।सामाजिक संजालमा अाफ्ना विचार अरुले पढिदिएनन् भनेर कतिपयले गर्ने गरेका गुनासा पनि यस्तै मनोभावनाको परिणति हुन् । अझ कतिपयले त अाफ्ना विचार प्रतिको अाम अरुचिलाई तिनै अरुचि राख्ने समुदायको बौद्दिक क्षय वा बौद्दिकताको अभावका रुपमा लिने जस्तो हाँस्यास्पद मनोदशा पनि अभिव्यक्त गर्ने गरेको मैले पाएको छु । तर यथार्थमा पढ्नु एउटा गार्हो काम हो । त्यसमाथि विषय वा लेखाइ नै अरुचिकर छ भने त मान्छेले नपढिनहुने भए मात्र पढ्छ नत्र वास्ता गर्दैन। त्यसकारण कसैले कुनै अमुक पात्रको सिर्जना पढिदिएन वा वास्ता गरेन भने, त्यो, वास्ता नगर्ने व्यक्तिमा विध्यमान वौद्दिक क्षय मात्र नभएर लेखिने सामाग्रीमा विध्यमान सरसताको अभावको रुपमा पनि बुझ्नु पर्ने हुन्छ । यसर्थ म यो वेवसाईटलाई सकेसम्म पाठकका लागि रूचिकर बनाउँदै लैजाने प्रयासमा रहनेछु । यहाँहरुले कम से कम पढिदिनु र सुझाव,इत्यादि दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु । भाषागत शुद्दाशुद्धिमा भरसक त ध्यान दिएको छु, तर कहिलेकाही कमी कमजोरीहरू रहन सक्छन्, मिलाएर बुझ्नुहुनेछ भन्ने अासा गरेको छु ।

धन्यवाद !

डा. अानन्द काफ्ले
नोडा, चिवा जापान ।
अक्नटोबर ६, २०१८  

No comments:

Post a Comment

तार्किक कि प्रायोगिक

आनन्द काफ्ले “प्रज्वलनशील पदार्थहरुको भित्र ‘फ्लोजिस्टोन् (phlogiston)’ नाम गरेको अग्नी तत्व हुन्छ, जसका कारण ती जल्ने गर्दछन् । जुन पदार...