Monday, October 29, 2018

अामेरिका नो ताईसिखान

     टोकियो जानका लागि 'नागारेयामा आेताकानोमोरी' भन्ने स्टेसनबाट 'चुकुबा एक्सप्रेश'को रेल चढ्दा बिहानको सबा छ बजेको थियो । राजधानी तिर जाने रेलमा बिहानको भीडभाड सुरु भैसकेको समय भए पनि बस्नका लागि एउटा सिट मिल्यो । राति अबेला सम्म ल्याबमा काम गर्नु परेकाले निद्रा त्यति राम्ररी पुगेको थिएन, सिटमा बसेपछि एकै छिनमा झकाउँन सुरु भइहाल्यो । भित्ता तर्फ अडेस लागेर, टेम्पुको सिटमा बसे जसरी बसिरहँदा, उभिएका यात्रुहरूको बीचको खाली ठाउँबाट पल्लो पट्टीको झ्याल बाहिरको द्रिष्य झालाकझुलुक देखिन्थ्यो । एक्सप्रेस ट्रेन भएकाले बीचमा एउटा दुईटा स्टेशन छाडेर गईरहेको थियो । अलिक खुला ठाउँमा निस्किएपछि पारिपट्टि अरू लाईनका रेलहरु देखिए । तिनै मध्यका रेलहरुमा मैले कहिल्यै कल्पना नगरेको द्रिष्य देखियो । रेलको छतमा भरि मान्छे बसेका थिए । डब्बै पिच्छे, अटेस मटेस भएर बसेका यात्रुहरुका टाउकाले पुरै छत कालो देखिएको थियो । ठूलो अचम्ममा परेँ । जापानी रेलको छत भरि मान्छे ??!!!!
     'कितासेन्जु' आईपुग्यो भन्ने सूचना  एनाउन्स्  भएपछि निद्रालु आँखा मिच्दै ट्रेनबाट बाहिर निस्किएँ । रेल बदल्नु थियो । जे आर (जापान रेल्वे) 'चियोदा लाईन'को ट्रेन चढेँ । त्यसमा पनि पहिले चढेर अाएको चुकुबा एक्स्प्रेसमा जस्तै बसाइ भयो । अलिबेर पछि झ्याल बाहिर हेर्छु, अघिल्लो रेलबाट देखिए जस्तै रेलै रेल छन् । तिनका छत भरि मान्छे । रेलहरुका टाँ टाँ र टुँ टुँ हर्न अनि मान्छेहरुको कोकोहोलोले गर्दा टिकिसक्नुको वातावरण छैन । मलाई भने बडो रमिता भएको छ । कुनै रेल उत्तर तिरबाट अाएका छन् भने कुनै दक्षिणबाट । दुई तिरबाट अाएका रेलहरु चालढाल र शैलीमा एकअर्काका पूरै विपरीत जस्ता लाग्छन् । एक अर्कालाई चुनाैति दिए जस्तो छाँटमा दुबै थरि रेल छत भरि यात्रु बोकेर हुइँकिईरहेका छन् । उसै त सानो काठमाण्डैा सहर, यत्रा बिधि रेलहरुको घुइँचोले झनै साँघुरो लाग्ने । मोदी एक्सप्रेस र सी जिनपिङ एक्सप्रेसका रेल लाईनहरुका कारण सहरमा खुट्टा राख्ने ठाउँ पनि नहोला जस्तो देखियो, झ्यालबाट । सहरका पूरै बस्तीहरु विस्थापित गरेर बनाईएको रेल संरचनामा मेरा आँखाहरु अोली एक्स्प्रेसका रेलहरु खोजिरहेका थिए । तर ठूला ठूला आकारका  उत्तरी र दक्षिणी रेलहरुको बीचमा जति खोजे पनि अोली भेटिएनन् । यसरी अघिल्लो रेलमा बस्दाको तन्द्रा यता अर्कोमा जोडिँदा झल्झल्ति आफ्नो देश देखियो । निद्रालु मस्तिस्कमा रहेका स्नायुकोषहरुको जटिल नेटवर्कले मेरो मनलाई काठमाण्डुसंग जोडिदियो । परिणामतः टोकियो मेट्रोको सुरुङ मार्गमा गुडिरहँदा मेरा आँखाहरुले झ्याल बाहिर उत्तरी र दक्षिणी रेलहरुका कोलाहल देख्न पुगे ।

'कितासेन्जु' आईपुग्यो भन्ने सूचना  एनाउन्स्  भएपछि निद्रालु आँखा मिच्दै ट्रेनबाट बाहिर निस्किएँ । रेल बदल्नु थियो । जे आर (जापान रेल्वे) 'चियोदा लाईन'को ट्रेन चढेँ । त्यसमा पनि पहिले चढेर अाएको चुकुबा एक्स्प्रेसमा जस्तै बसाइ भयो । अलिबेर पछि झ्याल बाहिर हेर्छु, अघिल्लो रेलबाट देखिए जस्तै रेलै रेल छन् । तिनका छत भरि मान्छे । रेलहरुका टाँ टाँ र टुँ टुँ हर्न अनि मान्छेहरुको कोकोहोलोले गर्दा टिकिसक्नुको वातावरण छैन । मलाई भने बडो रमिता भएको छ । कुनै रेल उत्तर तिरबाट अाएका छन् भने कुनै दक्षिणबाट ।
      यस्तै यस्तै केही अस्पष्ट दृष्यहरु मानसपटलमा अाउजाउ गरिरहेका थिए । निकै लामो समयसम्म, म अाफू चाहिँ उत्तरी या दक्षिणी कुन चाहिँ रेलमा छु भनेर पत्ता लगाउँनमा व्यस्त थिएँ । रेल अलिक घच्च मच्च गर्दै रोकिने तर्खर गर्दै रहेछ । आँखा खुल्दा रेल रोकिएको थियो र यात्रुहरु अोर्लँदै थिए । बाहिर हेरेँ, 'सिन-आेचानोमिजु' भन्ने स्टेसन रहेछ । तीन छक पर्दै घडी हेरेँ, पैँतालिस मिनेट भएछ । अठार नम्बरको 'कितासेन्जु ' स्टेशनबाट चढेको, अोर्लनु पर्ने चाहिँ सात नंबर, 'कोकाई-गिगिदो माए' भन्ने स्टेशनमा । रेल भर्खर बार्ह नंबरको सिन-आेचानोमिजु स्टेशनमा पुगेको रहेछ । अर्थात, पैँतालिस मिनेटमा जम्मा छ स्टेशन । " यो त लगभग पुगिसक्नु पर्ने समय हो ।" दुई स्टेशन बीचको दुरी लगभग चार मिनेट राखेर मैलै मनमनै हिसाव लगाएँ ।" केही भयो होला, कुनै दुर्घटना वा प्राविधिक समस्या ।" भन्ने सोच्दै अाफैँलाई अास्वस्त पारेँ । केही बिलंब नै भए पनि गन्तव्यमा पुग्नका लागि पर्याप्त समय बााँकी रहेकाले खासै चिन्ता भएन ।
     अठार नंबरबाट गएर सात नंबर स्टेशनमा अोर्लनुछ; रेलको ढोकामाथिको म्याप हेरेँ । "अब अाउँने स्टेशनको नाम 'अोतेमाची', नंबर एघार ।" मनले भन्यो । रेल गुड्यो ।अलिकबेर पछि, रोकिँदै गरेको रेलबाट कन्डक्टरको माईकिंग आयो, "मामोनाकु 'युसिमा एकी' देश" (अब चाँडै युसिमा स्टेशन आउँनेछ) म झस्किएँ । "हँ, एघार नभएर तेर्ह नंबर पो !!!" मेरो मन चिच्यायो । रेल उसको अन्तिम गन्तव्य 'योयोगी उएहारा' (एक नंबर स्टेशन) पुगेपछि सबै यात्रु अोर्लिएर नयाँहरु चढेछन् । रेल फर्किएछ । तर भुसुक्कै निदाएको एउटा बिदेशी यात्रु चाहिँ उत्रनु पर्ने ठाउँ दुई पटक मिस गरेर (जाँदा र फर्किँदा) झण्डै चढेकै ठाउँमा फिर्ता आईपुग्न लागेको रहेछ । यत्ति कुरो प्रष्ट भईसकेपछि युसिमा स्टेशनमा झटपट उत्रिएँ । वासरुम गएर मुख धोएँ र प्लाटफर्म बदलेर आफ्नो गन्तव्य तिर जाने रेल समातेँ । अझै समय त पुग्दो थियो, तर मुस्किलले । लक्षित काम नै छुट्ला जस्तो भयो । चनाखो भएर बसेँ । उत्रनु पर्ने कोकाई-गिगिदो-माए स्टेशन आएपछि बिलम्ब नगरी झटपट अोर्लिएँ । अब अापत पर्यो । अड्कलेर हिँडेको समय रेलमै खेर गयो । प्राविधिक कारणबस स्मार्टफोन साथमा थिएन, तसर्थ बिध्युतीय नक्सा हेर्न संभव भएन । खल्तीमा नक्सा प्रिन्ट गरेर बोकेको त थिएँ, तर कता हो कता, नक्सा अनुसारको दिसा पत्ता लगाउँनै सकिएन । टोकियो सहरका सडकहरुको जालोमा साथमा दिसा पत्ता लगाउँने गतिलो चिज भएन भने त नयाँ ठाउँमा कहिलेकाहीँ त्यसै हराईएला जस्तो हुन्छ, जता हेर्यो उस्तै देखिन्छ ।
     सडक पेटीमा उभिएँ अनि गौर गरेर यताउता हेरेँ । धेरै बाटाहरु मध्य पुलिसै पुलिस उभिएको लाईन चाहिँ छनौट गरेँ अनि अगाडि बढेँ । ठूलो सहरमा जोकोहीलाई बाटो सोध्नु ठिक हुन्न । बाटो हिँड्नेहरू सबै बाटोका जानकार हुँदैनन्, सोधिसकेपछि एकछिन सोचे झैँ गर्छन् अनि केही त भनिदिउँ भने झैँ फ्याट्ट एकथोक भनिदिन्छन्, जुन गल्ति हुन्छ र कहिलेकाहीँ समयको सीमितताका बीचमा थप दु:ख पाइँन्छ ।
     तैपनि उपाय केही नभएपछि त कसैको मदत लिनै पर्यो । बाटो छेउमा उभिएका पुलिस जवान जत्तिको भरपर्दो को हुँदोहो र अरु ? तिनै मध्यको एउटा जवानलाई सोधेँ, "आमेरिकानो ताईसिखान वा दोको देश्का??" कसैले केही नसोधिदिएर दिक्क लागेको समयमा म पुगेको झैँ गरी उ बडो खुसी भयो । बडो मिजासिलो तरिकाले, देखिने सम्मको दुरीमा अौँलाले देखायो । "उ........... पर ट्राफिक सिग्नल देख्नुहुन्छ नि, हो..... त्याँबाट उता हो, दायाँ तिर मोडिएर बाटो पारि जानुपर्छ । त्यो चोकमा पुगेपछि मजस्तै कुनै पुलिसलाई सोध्नुहोला ।" उसले सिकायो । त्यसैगरि अघि बढेँ । चोकमा पुगेँ तर कसैलाई सोधिन । दायाँ मोडिएँ । पारितिर हेरेँ । फेरि पुलिसै पुलिस उभिएको बाटो समातेर अघि बढेँ । मनले भन्यो, "संसारकै सुरक्षित यो टोकियो सहरमा यति धेरै पुलिस चाहिँने अम्रिकाने भन्दा बाहेक अरु को होला र ?" अलिक अगाडि पुगेपछि पुलिसहरुको अलिक ठूलो झुण्ड देखा पर्यो । पक्कै पनि आफू पुग्नुपर्ने ठाउँ त्यहि अाडको ठूलो भवन हनुपर्छ भन्ने सोच्दै एउटालाई फेरि माथिकै प्रश्न सोधेँ । उसले अाडको भवन नभएर सडक पारिको अर्को, सानो भवन तिर अौँल्यायो र भन्यो, "ताईसिखान वा सोचिरा देश ।" (ताईसिखान उ..... त्यो हो) । पारि गएँ । निकै भीडभाड थियो । त्यहाँको गार्डले केहि सोध्यो । शब्द नबुझेपनि "भिसाको लागि हो?" भनेर सोध्न खोजेको बुझ्न गार्हो थिएन । "हाई" (हो) भनेँ ।



एउटा मोबाईल फोन बाहेक केही पनि ईलेक्ट्रोनिक सामान भित्र लैजान नपाईँने । झोला पनि साधारण, ठिक्क अाफ्ना डकुमेण्टहरु अट्ने किसिमको मात्र लैजान पाईँने ।"क्यामारा, ल्यापटप, इत्यादि भित्र नलगिदिएर हामीलाई अातंकवादबाट बच्न मद्धत गर्नुहोला" भन्ने आव्हान बोकेर बसेका पर्खाल र भित्ताहरु । आतंकवादसंग यतिबिद्घ्न सजग मुलुक यो भुखण्डमा अरु कुन होला, संसारकै सर्वशक्तिमान अमेरिका बाहेक ? जापानको राजधानी टोकियो, जुन आफैँ सर्वसाधारणका लागि मात्र नभएर भीआईपी भन्दा पनि भीआईपीका लागि पनि एउटा सुरक्षा कवच जस्तो छ । जहाँ अपराधीहरुको कमीले कहिलेकाहीँ प्रहरी नै बेरोजगार झैँ बन्न पुग्छ भनिन्छ (भलै ठट्टै किन नहोस्)। त्यस्तो ठाउँमा पनि यस्तो सजगता देखिन्छ अमेरिकी नियोगमा । तीन तहको चेकजाँच पार गरेर भित्र छिर्ने उपक्रममा लाईन लागियो । चेकिंगमा बसेका सुरक्षाकर्मीहरुको व्यग्रता र छटपटी देख्दा लाग्थ्यो त्यहाँ कुनै ठूलै युद्दको प्रतिरोधमा गतिविधिहरु भईरहेका छन् । कहाँ कति बेला के अनिष्ट हुने हो भने जस्तो अत्यास देखिन्छ । सामान्यतया जापानीहरुमा नदेखिनै अध्वैर्यता र तनाव यो परिशरमा दृष्टिगोचर हुन्छ । "झोला त्यसरी होइन यसरी बोक्नुस्", "ज्याकेटको फास्नर खुल्ला छाड्नुहोस्, पासपोर्ट त्यसो होइन, यसो । पर्स कता....... ? बेल्ट किन...... ? जुत्ता .....? अनि मोजा नि ......... ।"
उफ........ हरे भगवान........!!!!!! ताइसीखान् !
     सारा शरीर चेक जाँच, एक्सरे, मेटल डिटेक्टर, इत्यादिको पर्खाल पार गरेर पुगियो भित्र, अंग्रेजी नै अंग्रेजी बोले पनि हुने ठाउँ ! अामेरिका ताईसिखान, याने कि अमेरिकी राजदुतावास् ! ताईसिखान रुपी यो सानो अमेरिका भित्र पुगेर कन्सुलर अफिस अगाडिको प्रतिक्षाकक्षमा बसिरहँदा घण्टौँको यात्रा पछि टोकियोबाट उडेर वासिंटन डिसी पुगेको जस्तो सन्तुष्टि मिल्यो । झण्डै झण्डै छुटिसकेको थियो, अर्को झन्झटले निम्तो मागिसकेको थियो, तर अाईपुगियो ।
     केहीबेर पालो पर्खिएर कन्सुलर अफिसरसंग भेट गरेपछि ताईसिखानबाट निस्किएँ । फर्किँदा कितासेन्जु स्टेशनमा अोर्लिएर चुकुबा एक्स्प्रेशमा चढेपछि फेरि एकपटक पारि तिर, परसम्म हेरेँ । रेलमा पहिले जस्तो भीडभाड केही थिएन । निकै टाढा, अर्को लाईनको रेलको छतमा पोतिएको कालो रंगमा आँखा पर्यो । अभियुक्त पक्राउ परिहाल्यो । धुलिखेल हुँदै काभ्रेका गाउँतिर जाने बसका छतमा खसीबोका जसरी खाँदेर राखिएका यात्रुहरुका काला कपालले बनाउँने अाकृतिको ताजा चित्र बोकेको मेरो मस्तिष्कलाई हल्का निद्राले छोपेको मौका पारेर मलाई झुक्याउँने त त्यही, रेलको छतमा पोतिएको कालो रंग पो रहेछ ! कसरी पत्याउँनु ! तर मान्छेको मस्तिष्कमा त्यस्तो छाप पर्छ कहिलेकाहीँ । यस्तोलाई अंग्रेजीमा 'पेरिडोलिया' भनिन्छ । यो एक किसिमको भ्रम हो ।
     कन्सुलर अफिसरले मलाई केही सामान्य प्रष्नहरु सोधेको थियो । मेरो पासपोर्ट अनि अरु कागजपत्र हेरिसकेपछि उसले भनेको थियो, "हुन्छ, हामी तपाईँलाई भिसा दिन्छौँ,  अर्को हप्ता सम्ममा पासपोर्ट तपाईँको घरमा आईपुग्छ ।" नभन्दै अर्को हप्ता रजिष्टर्ड मेलबाट पासपोर्ट आईपनि हाल्यो । पहिले युरोप जाने बेलामा ईटालियन दुतावासले यहाँबाट जाने दिन देखि फर्किएर आउँने दिन सम्मको भिसा हिसाव गरेर दिएको थियो, जम्मा नौ दिन ! तर आमेरिका ताईसिखान परेछ बडो मनकारी । उसले पाँच वर्षको भिसा पठाईदिएछ, आफूलाई मन लागेको समयमा जान आउँन सक्ने गरि । केही महिना अघि अमेरिका जानु भन्दा अरु केही महिना अघिको कुरो हो यो ।


अस्तु ।   

No comments:

Post a Comment

तार्किक कि प्रायोगिक

आनन्द काफ्ले “प्रज्वलनशील पदार्थहरुको भित्र ‘फ्लोजिस्टोन् (phlogiston)’ नाम गरेको अग्नी तत्व हुन्छ, जसका कारण ती जल्ने गर्दछन् । जुन पदार...