Tuesday, October 9, 2018

पाँचको पचास कि उन्नाईसको बीस ?

सफा, उज्यालो, अगष्ट महिनाको एक दिन, हामी सानु अाकारको पानी जहाज चढेर समुद्रमा अोर्लियौँ । पचास / पचपन्न जना जति अट्ने यस्तो जहाजमा चढेर  समुद्री माछा हेर्ने कार्यक्रम थियो । समुद्रको नीलो पानीमा तैरिँदै टापु छाडेर समुद्रको माझ तिर हान्निइयो । जहाज कुनै अर्को टापुमा अडिएपछि दहको छेउछाउतिर उभिएर समुद्री माछा हेर्ने होला भन्ने मेरो कल्पना थियो । तर त्यस्तो होइन रहेछ । समुद्रमा अलिक भित्र कतै पुगेपछि डुंगाका स्टाफले एनाउन्स् गरे , 'अब देब्रे (हिदारी) तिरका अोक्याक्सामा (ग्राहक) ले झ्यालबाहिर हेर्नुहोला।' झ्यालको अाडमा लहरै राखिएका सिटमा बसिरहेका हामीहरु उभिएर बाहिर तिर नियाल्न थाल्यौँ । माथिबाट नाउका स्टाफले माछाको चारो फुत्त फुत्त फ्याँकिदिने रहेछन्, माछाहरु त्यहि चारो खानकालागि झुण्डका झुण्ड पानी माथितिर अाउँने । त्यहिबेला तिनको दर्शन गर्नु पर्ने ! दर्शन गरियो । अलिकबेर पछि दायाँतिरको लहरमा हुनेहरुले त्यसैगरी दर्शन गरे ।  कुनै खास कुरो थिएन त्यो । खाली, जहाजमा बसेर वरिपरि नीलो पानी र समुद्री छालको बीचबाट केही ठूला (तर त्यति धेरै ठूला होइनन् !) अाकारका राता माछा 'हेर्ने' सम्मको कुरो थियो । त्यही रातो माछो, जुन् यो भ्रमणको व्यवस्थापन गर्ने होटेलको छतमा टाँगिएको बोर्ड साथसाथै हाम्रो भ्रमण ब्रुशरको पन्नामा पनि बुरुक्क उफ्रिँदै गरेको देखाइएको थियो ।


साईन्स् युनिभर्सिटी अफ टोकियोका विध्यार्थी तथा सहकर्मी/ प्राध्यापकहरुका साथ गरिएको यो वर्षको वार्षिक शैक्षिक भ्रमण को कुरो हो यो । पूर्वी जापानको समूद्रतटीय क्षेत्रको भ्रमण थियो । भ्रमणको गन्तब्य हाम्रो विश्वविध्यालयबाट लगभग तीन घण्टा जतिको बस यात्रा पछि पुगिने पहाडी सहर तातेयामा सम्मको थियो । माथिको माछा हेर्ने प्रशंग चाहिँ जाँदा जाँदै बाटैमा पर्ने मिनामी बोसो भन्ने बन्दरगाह सहरको हो । तीन घण्टाको बस यात्रा त्यति लामो दुरी होइन । गन्तब्य सहर तातेयामा म बसिरहेको चिबा जिल्लाकै दक्षिणी भूभाग पनि हो । जापानको मध्यम अाकारको क्षेत्रफल भएको जिल्ला चिबाको कुल क्षेत्रफल हाम्रो देशको सबैभन्दा ठूलो, डोल्पा जिल्लाको क्षेत्रफलको लगभग तीन चौथाइ जति रहेको छ । यसरी खास गरेर जापानका पहाडी इलाकाको भ्रमण गर्दा देख्न पाइँने चाखलाग्दा विषय मध्य जापानी पर्यटन व्यवसायीहरुको व्यवसाय प्रवर्द्वनको प्रभावकारी तौरतरिका पनि पर्दछन् । यहाँका व्यापारी अाफ्ना व्यापारजन्य वस्तुको अाकर्षक प्रचारप्रसार गरेर ग्राहक, पर्यटकलाई अाफ्नो तिर तान्न निकै सीपालु हुन्छन् । उसो त उनीहरू अाफ्ना वस्तु / सेवाको गुणस्तरप्रति पनि निकै सचेत हुन्छन् र सामान्यतया ग्राहकहरुकालागि गुनसो गर्ने ठाउँ रहँन दिँदैनन् भने विज्ञापन गर्दा त्यस्ता वस्तु/सेवाका कुनै पनि असल विशेषताहरु नछुटुन् भने झैँ गरी गर्छन् ।




गन्तब्य तर्फको यात्राकै क्रममा, माछा हेरेको केही समय पछाडि हामी तालिम दिइएका समूद्री जीव जन्तुहरुका अभिनय र क्रियाकलाप हेर्न कामोगावा सी वर्ल्ड पुग्यौँ । समुद्री तट छेउ अवस्थित यो मनोरन्जन स्थलमा डल्फिन्, व्हेल, सि लायन्, लगायतका विभिन्न समुद्री जीवहरुलाई उपयुक्त वासस्थान बनाएर राखिएको छ । तालिम प्राप्त ती जन्तुहरु त्यहाँका स्टाफहरुका निर्देशन र संकेत अनुसार विभिन्न कृयाकलाप गरेर दर्शकहरूलाई मनोरन्जन दिने गर्छन् । डल्फिनहरूका एकल तथा सामुहिक जंप, दौड लगायतका विभिन्न कृयाकलापहरु हेर्दा जनावरहरुको 'इन्टेलिजेन्स्' को राम्रो झल्को मिल्छ । डल्फिनहरुमा मान्छेको इसारा अनुरुप विभिन्न कृयाकलाप गर्ने खुबीका साथसाथै केही हद सम्म खास खास, छोटा निर्देशनहरूलाई बुझ्ने क्षमता रहेको हुन्छ ।  त्यस्तै, डल्फिन परिवारमै पर्ने किलर व्हेल पनि एउटा निकै बुद्दिमान / चेतनशील प्राणी हो । भीमकाय शरीरयुक्त यो प्राणीसंगको मानिसको 'स्टन्ट' निकै साहसिक देखिन्छ । व्हेल अघिपछि संगसंगै पौडनु, व्हेलमाथि चढेर पानी माथि तथा निकै मुनि गहिराइ सम्म पुग्नु, व्हेललाइ अाफ्नो पैताला टोकाउँदै तिनको अधि अधि तीब्र गतिमा पौडनु, लगायतका कलावाजी अाकर्षक छन् । समय समयमा व्हेल दौडाउँने ‘माहुते’ को इसारामा ह्वेलले अाफ्नो पुच्छरको मद्दतले झण्डै बाल्टी भरि भरि पानी दर्शकदीर्घातिर हुत्याइदिन्छ । पानीको रुझाइबाट बच्न अघिल्लो पंतिमा बस्ने दर्शकहरुले रेनकोट अोढेर बस्नुपर्ने हुन्छ ।





केही समय सि वर्ल्डमा व्यतित गरेपछि लागियो यात्राको अन्तिम गन्तब्य तातेयामा तिर । समुद्री किनार छेउको रिसोर्टमा रात बिताउँने प्रबन्ध थियो । राति होटलमा पार्टी र समुद्री किनारामा जापानी संष्कृति अनुरुप अातिसबाजी (हानाबी) गरेर रमाइलो गरियो । जापानीहरुको जीवनशैलीको मलाई मन पर्ने एउटा विशेषता उनीहरुको सामाजिक जीवनयापन हो । एकअापसमा मिलेर रमाइलो गर्नमा यिनीहरु निकै सीपालु हुन्छन् । अघिपछि सामान्यतया सबै अाअाफ्नै काममा व्यस्त हुने भए पनि अलिकति भेला हुने फुर्सद मिल्ने बित्तिकै बेजोडसंग समुहमा रमाइलो गर्ने यिनीहरुको बानी हुन्छ । यदि अरुलाई बाधा नपुग्ने, एकलास ठाउँ वा हल्ला गर्नकैलागि निर्धारित ठाउँ छ भने उनीहरुको असाधारण शान्त स्वाभावका विपरीत खुलेर हल्ला पनि गर्छन् (भलै यस्ता हल्ला हाम्रा तिर सामान्यतया सुनिने कोलाहलमय होहल्लाका तुलनामा निकै कम महसुस हुन्छ) । समुहमा विदेशी सदस्य म मात्र छु । उनीहरुले बोलेका कुरा र बातचित सामान्यतया म बुझ्दिन । तर मलाई मन लागेको समयमा अंग्रेजीमा कुरा गर्न खासै खाँचो पनि रहँदैन । बाँकी समय म अाफ्नै तालमा प्राकृतिक सौन्दर्यको मजा लिने वा उनीहरुले तयार गरेको रमाईलो माहौलमा हराएर अाफ्नो समय उपयोग गर्ने गर्छु ।
अर्को दिन बिहान नौ बजे होटल छाडेर बाहिरिईयो । बाटोमा सिमिजु किईर्यु पार्क र त्यसभित्र खास गरी नोमिजोनो ताकी झरनाको अबलोकन गर्ने कार्यक्रम थियो । नोमिजोनो ताकी झरनाको मूल विशेषता हार्ट (पाना) अाकारको प्रकाशपुन्ज र झरनाको कछुवा अाकारको निकास भनेर प्रचार गरिएको थियो । मैले बुझेसम्म बाहिर प्रवेशद्वारमा हामीलाई स्वागत गर्न उभिएका व्यक्तिले पनि यिनै कुराहरुलाई विशेष जोड दिएर बयान गरेका थिए भने ब्रुसरमा पनि यिनैको ज्यादा चर्चा थियो । तर गजबको कुरो, भित्र हेर्न पुग्दा बयान गरिए जस्तो कुनै पनि दृष्य स्पष्टसंग दृष्टिगोचर भएनन् । उही बताउँनेले घोटाई घोटाई “उ ……… त्यहाँ छ” भनेर अौँल्याउँदा कछुवाको अाकार चाहिँ हो कि हो कि जस्तो । प्रकाश पुन्ज चाहीँ कुनै खास सिजनको घमाइलो दिनमा एउटा खास समयमा पानाको अाकारमा देखिन्छ भन्ने बुझियो । जे होस्, प्रचार गरिएको चिज नभए पनि बाँकी दृष्यावलोकन र पदयात्राबाट नै पार्क भ्रमण को भरपुर अानन्द चाहिँ प्राप्त भयो । गुनासो गरिनै हाल्नु पर्ने त्यस्तो केही थिएन । व्यापारीहरुको विज्ञापन शैली होला, मान्छेको ध्यान सजिलैसंग तान्ने विशेषताहरु घोषणा गर्ने अनि यथार्थमा तिनको महसुस हुन नसकेपनि अरु मनोरंजनमा भुलाएरै पर्यटकलाई कन्भिन्स गराउँने । व्यापारमा “पाँचलाई पचास” भनेर प्रचार गर्नु त बदमासी नै हो भन्छु म, तर “उन्नाईसलाई बीस” भनेर दाबी गर्नु त्यति नाजायज होइन । अाखिर व्यापार जो पर्यो, बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल पनि नबिक्ने खास भनौँ भने मलाई मिनामी बोसोको माछा हेराइ पनि उतिसारो विशेष लागेको होइन । तर समुद्री पानीमाथिको त्यो यात्रा चाहिँ अाफैँमा रमाइलो र अविस्मरणीय थियो । यसर्थ माछाको हेराइ पनि त्यही यात्राको क्रममा एउटा बोनस् जस्तो भयो भन्दा अत्युक्ति नहोला ।


जापानका पहाडी / ग्रामिण भेगको भ्रमण गर्दाको अर्को अाकर्षण भनेको कृषि पर्यटन हो । हरेक वर्ष यसरी भ्रमणमा निस्कँदा काहीँ न काहीँ ‘फ्रुट पिकिंग’ अर्थात फलफूल टिपेर खाने कार्यक्रम रहेकै हुन्छ । त्यस्तोमा सिजन र भूगोल अनुसार कहिले नास्पाती, कहिले सुन्तला, स्याउ वा अंगुर टिपियो । एसपाली अंगुरको पालो थियो । भरिभराउ ग्रिनहाउस भित्र सिक्रा सिक्रीले बनाईएका माच माथि झपक्क ढाकिएका लहराभरि लटरम्म फलेका अंगुरका झुत्ता कैँचीले काटेर बाल्टीमा जम्मा गरियो । बसेर खानका लागि फारम भित्रै मेचहरु राखिएका छन् । घर लैजान मन लागे पनि अाफैँ टिपेर बजारमा भन्दा निकै सस्तो दाम तिरेर लैजान पाईँने । कस्तो राम्रो अवधारणाको व्यवसाय । पर्यटन पनि भयो कृषि पनि साथसाथै । एक खाल्को संस्कृतिका रुपमा विकास भएको छ । झुण्डका झुण्ड मान्छेहरु पैसा तिरेर घुम्न अाउँछन् ।खान मन लागेजति खाएर मन लाग्यो भने थप फलफूल किनेर घरै पनि लिएर जान्छन् । गुणस्तर कायम गरेका छन् । ग्राहक / पर्यटक पनि खुसी ।


फलफूल टिप्ने कार्यक्रम पछि भ्रमणलाई बिट मार्दै अब घर फर्किनका लागि बाटो लागियो । समुद्रको तिरै तिर जाँदा- अाउँदा अाफ्नै देशको राजधानी पुग्नका लागि नदी किनारै किनार बसमा हुइँकिएको झल्को मिल्यो । संयोगबस त्यही समयमा राष्ट्रिय/ अन्तर्राष्ट्रिय मिडियामा चर्कोसंग अाईरहेको नेपालका हिमालयन क्षेत्रमा ट्रेकिंगका क्रममा पर्यटकलाई जानाजानी बिसाक्त खाना खुवाएर बिरामी पार्ने अनि फेक रेस्क्यु गरेर अमानवीय र क्रुर ढंगबाट गरिँदै अाएको ठगी संबन्धि समाचार ईन्टरनेटमा छ्याप्छ्याप्ति अाईरहेको थियो । तिनै मध्यको एउटा तितो समाचार पढेपछि मनमनै गम्न पुगेँ ‘प्रकृतिले त्यति धेरै सौन्दर्य दिएर सिँगारिदिएको मेरो देशमा स्वस्थ, ईमान्दार र पौरखी किसिमको पर्यटन कहिले भित्रिने होला ?’  















2 comments:

तार्किक कि प्रायोगिक

आनन्द काफ्ले “प्रज्वलनशील पदार्थहरुको भित्र ‘फ्लोजिस्टोन् (phlogiston)’ नाम गरेको अग्नी तत्व हुन्छ, जसका कारण ती जल्ने गर्दछन् । जुन पदार...